हाईलाईट :
२०८१ बैशाख १३ बिहिबार ,   Loading...

हाम्रो बारेमा

सूचना शक्ति हो । सुशासन र पारदर्शीताका लागि सूचना महत्वपूर्ण हुन्छ । यस मर्मलाई आत्मसाथ गर्दै नेपालको संविधानले प्रत्याभुत गरेको बिचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बर्धन गर्दै; प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ को दफा ५५ बमोजिम यो सूचना बैंक बनेको हो । प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकोले आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्‍चार रजिष्ट्रारको कार्यालयले सूचना बैंकको स्थापना गरेको हो ।

आधिकारिक सार्वजनिक सूचनाहरु छिटो तथ सहज रुपमा  प्राप्त गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्न, डिजिटल नेपाल र डिजिटल बागमती प्रदेश बनाउने सरकारको उद्देश्यलाई साकार पार्न प्रदेशका सबै मन्त्रालय र अन्तर्गतका कार्यालयका सूचनालाई एक ठाउँमा केन्द्रित गरी सूचनाका उपभोक्तासम्म पुरयाउन एग्रिगेटरका रुपमा पनि सूचना बैंक उपयोगी हुनेछ ।

हाल प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभा, प्रदेशका सात वटै मन्त्रालय, प्रदेश नीति तथा योजना आयोगसहित प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपुर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत तत्कालै सूचना बैंकमा संग्रहित हुनेछ । सूचना बैंकमा समेटिएका कार्यालयको सूचनाका लागि सम्बन्धित कार्यालयको वेवसाइटमा नगइकन प्राप्त गर्न सकिनेछ भने सम्बन्धित कार्यालयको वेवसाइटमा पनि सूचना बैंक मार्फत नै पुग्न सकिनेछ ।

संसारभरका नेपाली नागरिकलाई बागमती प्रदेशको सूचना प्राप्त गर्ने भोक सहजै मेटाउने उद्देश्यले तयार गरिएको यो सूचना बैंकलाई आगामी दिनमा बिस्तार गर्दै लगिनेछ । कुनै पनि बिषय पूर्ण नभए जस्तै सूचना बैकमा यहाँहरुको निरन्तरको चासो, जिज्ञासा र सुझावले यसलाई पूर्णता तर्फ अघि बढाँउन मद्दत पुरयाउँनेछ ।